रूसी मिसाइल आक्रमणमा ११ युक्रेनीको मृत्यु

काठमाडौं । रूसले युक्रेनको राजधानी कीभमा गरेको पछिल्लो मिसाइल आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । घटनापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका तथा युरोपेली साझेदार राष्ट्रहरूलाई युक्रेनका लागि थप पेट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै जेलेन्स्कीले आगामी नेटो शिखर सम्मेलनअघि युक्रेनको वायु रक्षा प्रणाली सुदृढ बनाउन ठोस निर्णय आवश्यक रहेको बताएका छन् । उनका अनुसार युक्रेनी गुप्तचर निकायले रूसले अझ व्यापक आक्रमणको तयारी गरिरहेको संकेत दिएको छ । कीभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणबाट राजधानीका चार जिल्ला प्रभावित भएका छन् । घाइतेमध्ये तीन बालबालिका रहेका छन् ।

भग्नावशेषमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । यसअघि गत साता पनि रूसी मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको ज्यान गएको थियो । पछिल्लो आक्रमण भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्ताको दुई दिनपछि भएको हो, जसले यस घटनालाई थप चासोको विषय बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर