फ्रान्समा एअर कन्डिसनर किन्न धकेलाधकेल

काठमाडौं । फ्रान्समा अत्यधिक गर्मीको लहरपछि एअर कन्डिसनर (एसी) को माग एकाएक बढ्दा देशभरका केही सुपरमार्केटहरूमा ठूलो भिड लागेको छ। एसी खरिद गर्न पुगेका सयौं ग्राहकबीच धकेलाधकेल, चर्काचर्की र सामान्य झडपसमेत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, फ्रान्सले हालै इतिहासकै सबैभन्दा तीव्र गर्मीको लहरमध्ये एक अनुभव गरेको थियो। अत्यधिक तापक्रमका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको थियो भने केही विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको थियो।

फ्रान्समा परम्परागत रूपमा गर्मी धेरै नहुने भएकाले अधिकांश घर, विद्यालय र सार्वजनिक भवनहरूमा एअर कन्डिसनर जडान गरिएको छैन। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण गर्मीको तीव्रता बढ्दै जाँदा एसीको माग पनि उल्लेखनीय रूपमा बढ्न थालेको छ।

अर्को गर्मीको लहर आउने पूर्वानुमानपछि मानिसहरू एसी खरिद गर्न हतारिँदा केही सुपरमार्केटमा सीमित मौज्दातका कारण ग्राहकहरूबीच विवाद र धकेलाधकेल भएको बताइएको छ। विशेषज्ञहरूले युरोपमा जलवायु परिवर्तनका कारण चरम मौसमी घटना बढ्दै गएको भन्दै आगामी वर्षहरूमा यस्ता गर्मीका लहर अझै बारम्बार देखिन सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर