विष्णु पौडेल ७ दिन प्रहरी हिरासतमा रहने, एमालेको विरोध जारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत काठमाडौंले मंगलवार सात दिन हिरासतमा राखेर सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश त्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेललाई हिरासतमा राख्न थप सात दिनको म्याद दिएको हो । पौडेललाई २० दिन हिरासतमा राख्न अनुमति माग गरिएको थियो । व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सोमवार सुर्खेतबाट पक्राउ गरिएको थियो । मंगलवार विभागमा पौडेललाई हाजिर गराइएको थियो।

यसैबीच मंगलवार प्रतिपक्षी दल एमालेले पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पौडेलको गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ कदमको संज्ञा दिँदै पौडेललाई पक्राउ गर्ने क्रममा राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाउँदै भन्नुभयो– ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानुनी हो ।’ उहाँले पौडेलको तत्काल रिहाइको माग गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर