पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, तराईका केही क्षेत्रमा तातो दिन रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना पनि औंल्याएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर