सांसद खुस्बु ओलीलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की, गृहमन्त्रीद्वारा कारवाही गर्ने आश्वासन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले प्रतिनिधिसभाको बैठकमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभाको ध्यानाकर्षण गराएकी हुन् ।

ओलीले केही दिनअघि संसद बैठकमा ९० प्रतिशत सनातति बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाएकी थिइन् । त्यसपश्चात् आफूलाई सुनियोजितरुपमा सामाजिक सञ्जालबाट धम्की आइरहेको उनले बताइन् ।

ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

यसैबीच ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले सदनभित्रै उनीसँग कुराकानी गरेका छन्।

प्रतिनिधिसभाको बैठक बुधबार चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी गरेका हुन्। ‘तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ’, ओलीले भनिन्। कतिपय धम्कीहरू विदेशबाट आएको र कतिपय अपरिचित व्यक्तिबाट आएको पनि उनले गृहमन्त्रीलाई जानकारी गराएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर