प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको बताएका हुन् ।
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन् ।
राष्ट्रियसभामा अर्थमन्त्रीमाथि छानबिन गर्न माग
राष्ट्रिय सभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने, “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”
सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गर्नुभएको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिए । सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्नेछ ।
