युद्ध रोक्न जेलेन्स्कीले पुटिनलाई पत्र पठाए
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । रुसी राष्ट्रपतिलाई लेखेको एक खुला पत्रमा जेलेन्स्कीले युरोपको युद्धमा पुनः अमेरिकाको ध्यान केन्द्रित नभएसम्म पर्खिएर बस्नु गलत हुने उल्लेख गर्दै युक्रेन र रुसबीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताएका छन् ।
उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविरामको आह्वान पनि गरेका छन् । यद्यपि, पुटिनले बिहीबार प्रस्ताव अस्वीकार गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बिहीबार दुई नेताबीच भेटवार्ता भएमा त्यो निकै राम्रो हुने बताएका थिए । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे पुटिनलाई जानकारी गराइने जनाएको छ ।
