अमेरिकी कङ्ग्रेसद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित

काठमाडौं ।  अमेरिकी कङ्ग्रेसको तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही अघि बढाउनबाट रोक्ने एक प्रस्ताव पारित गरेको छ।

प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको थियो। चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटसँग मिलेर प्रस्तावमा मत दिएर फेब्रुअरीमा सुरु भएको युद्धप्रति दुर्लभ सार्वजनिक असहमति प्रकट गरेका छन्। ट्रम्पको युद्ध अधिकारलाई सीमित गर्ने यो सदनको चौथो प्रयास हो। कंग्रेसको स्वीकृतिबिना सञ्चालन भइरहेको इरान युद्धबारे आलोचकहरूले प्रश्न उठाउने गरेका छन्।

यो प्रस्ताव कार्यान्वयनमा आउन कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट पनि अनुमोदन हुनु आवश्यक छ। सिनेटमा रिपब्लिकनहरूको बहुमत छ। सिनेटबाट स्वीकृत भए पनि यो प्रस्तावले इरानविरुद्धको सैन्य कारबाही पूर्ण रूपमा रोक्ने सम्भावना कम रहेको ठानिएको छ। ट्रम्पले यो प्रस्ताव आफ्नो असाधारण अधिकार ‘भिटो’ प्रयोग गरेर रोक्न सक्छन्। जसलाई खारेज गर्न दुवै सदनको दुई–तिहाइ बहुमत आवश्यक पर्छ।

यसअघि सिनेटले मे महिनामा यस्तै प्रस्ताव अघि बढाएको थियो। सात पटकको असफल प्रयासपछि अघि बढेको उक्त प्रस्ताव अझैसम्म पनि सदनको पूर्ण बैठकमा मतदानका लागि प्रस्तुत गरिएको छैन। प्रतिनिधिसभामा बुधवार भएको मतदानमा चार जना रिपब्लिकन सांसदहरूसँगै यसअघि प्रस्तावको विरोधमा रहेका डेमोक्र्याट सांसदहरू पनि समर्थनमा उभिएका थिए।

सदनको मतदानलाई ट्रम्पको रिपब्लिकन पार्टीभित्र बढ्दो विभाजनको सङ्केतका रूपमा टिप्पणी गरिएको छ। केही दिनअघि मात्रै कंग्रेसमा रिपब्लिकन पार्टीकै सांसदहरूले विद्रोह गरेपछि ट्रम्प प्रशासनले यसअघिको बाइडन प्रशासनबाट ‘राजनीतिक प्रतिशोध’ साँधिएकाहरूलाई सहयोग गर्ने नाममा बनाउन लागिएको १.८ अर्ब अमेरिकी डलरको कोषको योजना फिर्ता लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर