महत्त्वाकांक्षा बोकेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
काठमाडौं । सरकारले व्यक्तिगत आयकर छुटको सीमा बढाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइएको जानकारी दिनुभएको हो । अब न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाखबाट बढेर १० लाख पुगेको छ ।
३ सय ६० वटा बस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज
सरकारले ३ सय ६० वटा वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गर्नुभएको हो ।
आगामी आवको बजेट सुशासनको मानक बन्नेछ
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उहाँले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताउनुभएको हो ।
“नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो । हाम्रो मुलुक बृहद आर्थिक सुधारको निर्णयक मोडमा उभिएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार र सुशासनमा बजेट केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेट त उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहनेछ ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने दिशामा सरकार अघि बढेको बताउनुभयो । बजेटलाई केवल संवैधानिक औपचारिकता नभई नीतिगत रूपान्तरणको विश्वसनीय दस्तावेजका रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।
बजेटमा सूचना तथा सञ्चार, कृत्रिम वौद्धिकता, वित्त, व्यापार, लगानी तथा विश्वभर फैलिएको नेपाली समुदायको सामूहिक सामथ्र्यलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ छ । सरकारले नयाँ प्रविधिको उपयोगमार्फत समन्वित आर्थिक वृद्धिको नयाँ संरचना निर्माण गर्ने लक्ष्य लिएको जनाएको उहाँले उल्लेख गर्नुभयो ।
स्युचाटारमा एआई कम्प्युटर केन्द्र बन्ने
काठमाडौंको स्युचाटार क्षेत्रमा सार्वभौम एआई कम्प्युट केन्द्र बनाउने भएको छ । साथै, सरकारले नेपालबाट विदेशमा सूचना प्रविधि व्यापार गर्न सकिने अर्थमन्त्री स्वर्णिम वाग्लेले सुनाएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । वाग्लेले गणितलगायतका विधालाई प्रथामिकता दिइने बताइएका छन् । सूचना प्रविधि तथा एआई क्षेत्रमा काम गर्ने विश्वस्तरीय १५ जना सोधकर्तालाई नेपाल फर्केर योगदान गर्न आह्वान गर्ने बताइएको छ ।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो
सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ ।
३ महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना
अब ३ महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ ।
नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने
सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ६६ प्रतिशत टेलिकम र बाँकी सर्वसाधारणलाई दिइने घोषणा गरेका हुन् । पुससम्म यस्तो शेयर नागरिकलाई दिने उनको भनाइ छ । प्राप्त रकमले नेपाललाई टेक हब बनाउने सरकारको घोषणा छ ।
डाक्टर पढ्ने कोटा ‘उल्लेख्य वृद्धि गर्ने’
सरकारले नेपालका विभिन्न विश्वविद्यालयबाट सञ्चालन भइरहेका मेडिकल शिक्षाका कोटा बढाउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रस्तुत गरिरहेको बजेटमा मेडिकल शिक्षाका कोटामा ‘उल्लेख वृद्धि गर्ने’ बताएका छन् । पाटन, महाराजगञ्जलगायतका मेडिकल कलेजलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा केन्द्र बनाउने बताएका छन् । साथै, सातै प्रदेशमा मेडिकल शिक्षा चलाउने बताइएको छ । यसअगाडि डाक्टर गोविन्द केसीको आन्दोलनको कारण मेडिकल कोटा सीमित गरिएको थियो ।
