फिर्के करिडोर : कोरियाको चेओङ्ग्येचेन नदीको रूप दिइने
काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलामा बनेका अतिक्रमित संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ । पोखरा महानगरपालिका–२, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलामा तालभन्दा करिब एक किलोमिटरमाथि बिलौदी खोला पनि मिसिन्छ । पहिलो चरणमा खोलाको बहाव क्षेत्र खाली गरिने र दोस्रो चरणमा मापदण्डभित्रका संरचना हटाइने तयारी गरिएको छ । हाल फिर्केखोलाको दायाँ–बायाँ ६–६ मिटर मापदण्ड कायम गरिएको छ ।
फिर्केखोलामा बनेका संरचनामाथि डोजर चलाइएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोला करिडोरलाई सुन्दर र स्वच्छ बनाउने योजनाअनुसार डिजाइन गरिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उहाँले लेख्नुभएको छ, “यो परिकल्पना केवल खोला संरक्षणको योजना मात्र होइन, पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहरका रूपमा स्थापित गर्ने दूरदर्शी अभियान हो ।”
उहाँले पोखरा महानगरपालिका–१८ अधेरीकुनादेखि फेवाताल–गाईघाटसम्म फैलिएको आठ किलोमिटर लामो फिर्केखोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ शहरी पहिचान दिने लक्ष्य राखिएको उल्लेख गर्नुभएको छ । दक्षिण कोरियाको सियोल सहरमा अत्यन्त प्रदूषित र अतिक्रमित अवस्थामा पुगेको चेओङ्ग्येचेन नदीलाई पुनर्जीवन दिएर विश्वकै उत्कृष्ट गन्तव्य बनाइएको उदाहरण दिँदै प्रमुख आचार्यले पोखरामा पनि त्यस्तै अवधारणा लागू गर्न खोजिएको बताउनुभयो ।
“दक्षिण कोरियाको सियोलमा अत्यन्त प्रदूषित र अतिक्रमित अवस्थामा पुगेको चेओङ्ग्येचेन नदीलाई पुनर्जीवन दिई विश्वकै उत्कृष्ट नदीका रूपमा विकास गरिएको छ । पोखरामा पनि फिर्केखोलालाई स्वच्छ, हराभरा र जीवन्त सार्वजनिक करिडोरका रूपमा विकास गर्ने परिकल्पना गरिएको हो,” उहाँले भन्नुभयो । फिर्केको दायाँ–बायाँ ६–६ मिटर क्षेत्र खाली भएपछि सौन्दर्यकरणको काम सुरु गरिने उहाँले बताउनुभयो । करिडोरको मुख्य अवधारणाअनुसार फिर्केखोलाको दायाँ–बायाँ व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ ।
फिर्केखोला करिडोरभित्र विभिन्न स्थानमा पोखरेली शैलीका विश्रामस्थल, कफी पोइन्ट, खुला क्याफे, सेल्फी पोइन्ट तथा दृश्यावलोकन स्थल निर्माण गरिनेछ । त्यसैगरी खुला पार्क, चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्रसमेत निर्माण गरिने बताइएको छ । मेयर आचार्यका अनुसार स्थानीयवासीले सहज रूपमा सहयोग गरेमा फिर्के करिडोरको सौन्दर्यकरणले नयाँ स्वरूप पाउनेछ । करिडोर सुन्दर बनेसँगै आसपासका जग्गाको मूल्यसमेत बढ्ने उहाँको भनाइ छ ।
“फिर्के करिडोर भविष्यको पोखराको नयाँ शहरी पहिचान बन्नेछ । जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर संगम हुनेछ । यो परियोजना सफल भएपछि फिर्केखोला केवल पानी बग्ने खोला मात्र नभई पोखरेली नागरिकको दैनिकी, विश्राम, मनोरञ्जन, स्वास्थ्य, पर्यटन र हरित भविष्यसँग जोडिएको जीवन्त सार्वजनिक सम्पत्तिका रूपमा स्थापित हुनेछ,” उहाँले भन्नुभयो ।
एसियाली विकास बैंक (एडीबी)ले पोखराको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केखोला करिडोरका लागि करिब ६२ करोड रुपियाँ समेटेको थियो । अवरोध नभएको भए सन् २०२४ देखि सुरु भई २०२६ भित्र ३६ महिनामा काम सम्पन्न हुने योजना थियो । हालसम्म परियोजना सुरु हुन सकेको छैन । परियोजनाका लागि एडीबीले करिब ५ मिलियन अमेरिकी डलर अर्थात् ७६ करोड ४३ लाख रुपियाँ खर्च हुने अनुमान गरेको छ । त्यसमा क्षमता अभिवृद्धिका लागि थप दुई लाख अमेरिकी डलर खर्च गर्ने योजना रहेको छ ।
