हतारमा इरानसँग सम्झौता नगर्न ट्रम्पको निर्देशन

काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन्। ‘वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनैपनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु’, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।’ गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले सुरु गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ।

राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ, जतिबेला अमेरिका र इरानबिच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ। इरानसँग सम्झौताको तयारी भइरहँदा वासिङ्टनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले सम्झौताका बुँदाहरूमा आलोचना गरिरहेका सूचना बाहिरिएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ।’

ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भएपनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भनेका छन्, ‘दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ‘समझदारी–पत्र’ को अन्तिम तयारी नजिक पुगेका छन्।’

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि ‘धेरैजसो वार्ता’ भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि हतार नगर्न आग्रह गरेका छन्।

सोमबार बिहान एसियाली बजार खुल्दा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ५ प्रतिशतले घटेर प्रतिब्यारेल ९८.३६ डलर कायम भएको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि ५.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९१.५० डलरमा ओर्लिएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले सम्झौतामा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने विषय समावेश हुने बताएका थिए, तर विस्तृत विवरण भने दिएका छैनन्। विश्वको झन्डै एक चौथाइ तेल र लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) ओसारपसार हुने यो साँघुरो जलमार्ग गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएदेखि नै बन्द अवस्थामा छ।

यो जलमार्ग चाँडै खुल्ने आशामा जापानको सेयर सूचक (निकेई २२५) २.५ प्रतिशतले बढेर इतिहासमै पहिलो पटक ६५,००० अंक पार गरेको छ। जापान र छिमेकी दक्षिण कोरिया खाडी मुलुकको ऊर्जामा अत्यधिक निर्भर रहेका कारण यस द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका थिए। सार्वजनिक बिदाका कारण सोमबार बेलायत र अमेरिकाका ऊर्जा तथा वित्तीय बजारहरू भने बन्द छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर