बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ । प्राप्त तस्बिरमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मी भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् । घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ ।

अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो । विस्फोटका कारण रेलका झ्याल फुटेका थिए र नजिकका केही डिब्बा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिक आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए ।

बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ । यहाँका बलुच पृथकतावादी समूहले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर