भारतको सरकारी पाहुना बन्दै रवि लामिछाने दिल्ली जाँदै
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्को साता भारत भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमणका क्रममा उनी जुन १–२ (जेठ १८–१९) मा नयाँ दिल्ली पुग्ने तय भएको हो ।
बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारत भ्रमण गर्ने लामिछाने पहिलो शीर्ष नेता हुनेछन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सक्ने चर्चा भए पनि त्यसको औपचारिक टुंगो लागिनसकेको बताइएको छ ।
रास्वपाका नेताहरूका अनुसार लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै, भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत कार्यक्रमसमेत राखिएको छ, जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेट गर्ने तयारी छ ।
भारतले यसअघि पनि नेपालका प्रमुख दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयमार्फत निमन्त्रणा गरेर भ्रमण गराउँदै आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि यस्तै भ्रमण गरिसकेका थिए ।
प्रधानमन्त्री शाहको भारत भ्रमण अनिश्चित बनेको तथा दुई देशबीच उच्चस्तरीय संवाद सुस्ताइरहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लिपुलेक नाका हुँदै भारत–चीन व्यापार पुनः सञ्चालन गर्ने घोषणापछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएको पृष्ठभूमिमा यो भ्रमण हुन लागेको हो ।
