चीनको अमेरिकालाई सन्देश : प्रतिस्पर्धी नभई साझेदार

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय वार्ता भएको छ । व्यापार, प्रविधि, ताइवान, लगानी तथा इरान संकटलगायत विषयमा केन्द्रित उक्त भेटलाई विश्वभर चासोका साथ हेरिएको छ ।

भेटको सुरुवातमा सीले चीन र अमेरिकाले प्रतिस्पर्धी नभई साझेदारको रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । ट्रम्पले भने सीलाई महान नेता भन्दै अमेरिका–चीन सम्बन्ध पहिलाभन्दा अझ राम्रो हुने बताएका छन्। उनले चीनसँग व्यापारिक सहकार्य विस्तार गर्न र अमेरिकी कम्पनीहरूका लागि चिनियाँ बजार खुला बनाउन चाहेको संकेत दिएका छन् ।

वार्तामा दुई देशबीच संयुक्त व्यापार बोर्ड गठन गर्ने विषयमा प्रारम्भिक सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त संयन्त्रले व्यापारिक विवाद समाधान र द्विपक्षीय कारोबारको निगरानी गर्ने अपेक्षा गरिएको छ । चीनले अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिन र गाईको मासु खरिद बढाउने सम्भावना रहेको बताइएको छ। त्यसको बदलामा बेइजिङले अमेरिकी ट्यारिफ सहज बनाउने, चिनियाँ कम्पनीमाथिका प्रतिबन्ध हटाउने तथा उन्नत सेमिकन्डक्टर प्रविधिमा पहुँच खोजिरहेको विश्लेषण गरिएको छ।

ताइवानको विषयलाई सी चिनफिङले दुई देशीय सम्बन्धको “सबैभन्दा महत्वपूर्ण मुद्दा” का रूपमा प्रस्तुत गरेका छन्। उनले ताइवानसम्बन्धी विषय सही ढंगले व्यवस्थापन नभए दुई देशबीच टकरावको जोखिम बढ्ने चेतावनी दिएका छन्। अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्दै आएको विषयमा चीनले असन्तुष्टि जनाउँदै आएको छ। ट्रम्प प्रशासनले ताइवानका लागि प्रस्तावित १४ अर्ब डलर बराबरको हतियार प्याकेज रोकिराखेको र त्यसबारे वार्तामा छलफल भएको बताइएको छ ।

भेटवार्तामा इरानको अवस्थाबारे पनि चर्चा भएको छ । अमेरिका इरानसँगको तनाव कम गर्न चीनको सहयोग खोजिरहेको बताइएको छ । चीनले भने युद्ध अन्त्य र वार्तामार्फत समाधानको पक्षमा रहेको प्रतिक्रिया दिएको छ । ट्रम्पसँग इलन मस्क, टिम कुक तथा जेन्सेन हुआङलगायत अमेरिकी व्यवसायीहरूको  प्रतिनिधिमण्डल पनि बेइजिङ पुगेको छ। अमेरिकी पक्षले चिनियाँ बजारमा थप पहुँच र लगानी विस्तारलाई प्राथमिकतामा राखेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर