बैठकमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गर्नु भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाइरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।
यसैबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। बैठक सञ्चालनका क्रममा उत्पन्न परिस्थितिका कारण केही समयका लागि बैठक रोकिएको जनाइएको छ।
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहार भएको आरोप लगाउँदै तत्काल स्पष्टिकरणसहित राजीनामा दिन माग गरेका छन्।
