चितवनमा विषाक्त खानाका कारण ९३ जना बिरामी
काठमाडौं । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
“हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत रहेको छन् । दुई जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ । बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ”, उहाँले प्रहरी उपरीक्षक पुरीले भन्नुभयो ।
झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । झापा जिल्लाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् ।
बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।
यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।
