युक्रेनसँगको युद्ध अन्त्य हुने पुटिनको संकेत
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध चाँडै समाप्त हुन सक्ने संकेत दिएका छन् । रुसको ‘विजय दिवस’ परेड मनाएपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, “मलाई लाग्छ कि यो विषय अब अन्त्यतिर आउँदै छ ।”
युक्रेनलाई पश्चिमा देशहरूले दिइरहेको सहयोगले सीमा नाघेको हो कि भन्ने प्रश्नको जवाफमा उनले यस्तो टिप्पणी गरेका हुन् । “उनीहरूले रुससँगको टकराव बढाउन सुरु गरे, जुन आजसम्म जारी छ । मलाई लाग्छ यो अन्त्यतिर जाँदैछ, तर यो अझै पनि गम्भीर विषय हो,” पुटिनले भने ।
रुस र युक्रेनबीच तीनदिने युद्धविराम चलिरहेको बेला पुटिनको यो टिप्पणी आएको हो । दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघले नाजी जर्मनीलाई पराजित गरेको सम्झनामा रुसको विजय दिवस मनाइन्छ । शनिबारको परेडमा रुसका नजिकका सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी थिए । झन्डै दुई दशकमा पहिलोपटक कुनै पनि सैन्य हतियार प्रदर्शन गरिएको थिएन ।
रुस र युक्रेनबीच तीनदिने युद्धविराम भएको छ । यो युद्धविरामको घोषणा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि गरेका थिए । यो हप्ताको अमेरिकी नेतृत्वको शान्ति सम्झौताको हिस्साका रूपमा दुवै पक्ष ठूलो संख्यामा कैदीहरूको आदानप्रदान गर्न सहमत भएका थिए । तर पुटिनले यस विषयमा रुसले युक्रेनबाट कुनै प्रतिक्रिया नपाएको बताएका छन् ।
“हामी अमेरिकाका राष्ट्रपतिले गरेको प्रस्तावमा युक्रेनी पक्षले प्रतिक्रिया दिने अपेक्षा गरिरहेका छौँ । दुर्भाग्यवश, हामीले अहिलेसम्म कुनै प्रस्ताव प्राप्त गरेका छैनौँ,” उनले पत्रकारहरूलाई भने । पुटिनले आफू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष शान्ति वार्ताका लागि तयार रहेको, तर त्यो स्थायी शान्ति सम्झौतापछि मात्र सम्भव हुने बताए ।
