देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभरको मौसममा बदली आउनुका साथै विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैगरी आज राति पनि कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्ने देखिन्छ। रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। मौसमी प्रणालीमा आएको यो परिवर्तनले पहाडी र हिमाली भेगमा चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर