छुटेका सुकुम्बासीलाई तत्काल सम्पर्कमा आउन विशेष आग्रह
काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने क्रममा छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन विशेष आग्रह गरेको छ।
मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै स्थानान्तरण प्रक्रियामा समेटिन बाँकी रहेका र हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई सरकारले तोकेको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार सहायता आवश्यक पर्ने नागरिकहरूका लागि काठमाडौँको दशरथ रंगशालामा प्राथमिक दर्ता केन्द्र स्थापना गरिएको छ। हाल अलपत्र अवस्थामा रहेका वा स्थानान्तरण प्रक्रियामा सहभागी हुन नसकेका व्यक्तिहरूलाई उक्त केन्द्रमा उपस्थित भई आफ्नो विवरण दर्ता गराउन अनुरोध गरिएको छ। सरकारले वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन गर्ने र उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने कार्य अघि बढाएको छ।
ती होल्डिङ सेन्टरहरूमा नागरिकहरूका लागि आवास, भोजन र स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श जस्ता आधारभूत सुविधाहरू समेत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भई आफ्नै पहलमा व्यवस्थापन गर्न असमर्थ रहेका वास्तविक भूमिहीनहरूलाई सरकारले प्रदान गर्ने यी सेवा सुविधाहरूको लाभ लिन प्रोत्साहित गरिएको छ।
