काठमाडौंको कंकेश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो सिंह शैय्यासन प्रस्तर बुद्ध मूर्ति स्थापना गरिएको छ । २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर शुक्रवार वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेश श्रेष्ठले मूर्ति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपैयाँ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
यस स्थानलाई हामीले बुद्ध पार्क नामकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिक मैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ’, श्रेष्ठले भने, ‘निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’
