आज र भोलिसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन सल्लाह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहीबार पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले उपत्यकाको लगभग पूरै आकाश बादलले ढाकिएको छ । दिउँसो वा रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बुधबारको तुलनामा यो झन्डै २.५ डिग्री सेल्सियसले घटेको हो ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम छ । यसको कारणले देशका अधिकांश स्थानमा बादल लागिरहेको छ । अहिले बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि यस्तै वर्षा जारी छ ।

त्यस्तै आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहने कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ । त्यसैगरी आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

अर्कोतर्फ मौसम महाशाखाले आजबाट मौसममा क्रमिक सुधार आउने बताएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भोली शुक्रबारसम्म पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायम छ । यद्यपि यो वर्षा गत मङ्गलबार र बुधबार जस्तो भारी नहुने मौसमविद्हरूको भनाइ छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको हंसपुरमा १०४.६ मिलिमिटर र कास्कीको रिभानमा ८१ मिलिमिटर मापन भएको थियो । मेघगर्जन, चट्याङ्ग र हुरीबताससँगै वर्षा हुने भएकाले किसान, यातायात तथा पर्यटकहरूलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर