फेरि बन्द भयो बीपी राजमार्ग
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यसअघि रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा शनिबारदेखि नै सडक अवरुद्ध भएको थियो।
मंगलबार साँझ पुनः वर्षासँगै खोलामा पानीको सतह बढेपछि सडक सञ्चालनमा समस्या आएको र सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। सडक बन्दहुँदा काठमाण्डुबाट पूर्व आउजाउ गर्ने यातायता साधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको उल्लेख गरिएको छ।
काभ्रेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ । थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।
