पहाडी र हिमाली भू-भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराईका यी जिल्लामा आज साँझ सतर्कता अपनाउन सुझाव

यसैबीच आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाना कमजोर छ भने बलियो बनाउन, घरबाहिर आगो नबाल्न विभागले सुझाव दिएको छ । वैशाख १६ साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७ः४५ बजे सकिने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर