इरान-अमेरिकाबिच नयाँ प्रस्तावमाथि छलफल
काठमाडौं । अमेरिका र इरानबीचको तनाव कम गर्ने प्रयासस्वरूप नयाँ प्रस्तावहरूमाथि छलफल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगको बैठकमा इरानले पेश गरेको नयाँ प्रस्तावबारे विमर्श गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार यो प्रस्तावमा रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः सञ्चालनमा ल्याउने विषय समेटिएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले प्रस्तावलाई तत्कालै स्वीकार गर्ने संकेत भने देखाएका छैनन् । सोमबार भएको छलफलमा उनी इरानको सर्तप्रति सशंकित देखिएका छन्, किनकि इरानले जलमार्ग खोल्ने प्रस्ताव गरे पनि आफ्नो आणविक कार्यक्रम र युरेनियम भण्डारणको विषयलाई पछिका लागि थाँती राख्न चाहेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव आफूहरूले अपेक्षा गरेभन्दा सकारात्मक भएको टिप्पणी गरे पनि ह्वाइट हाउसले निकै सावधानीपूर्वक कदम चालिरहेको छ । ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले अमेरिकाले आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेर मात्र सम्झौता गर्ने र इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएकी छन् ।
इरानमा देखिएको आन्तरिक राजनीतिक विभाजन र निर्णय प्रक्रियामा रहेको अस्पष्टताले गर्दा पनि अमेरिकी अधिकारीहरू अहिले ‘पर्ख र हेर’को रणनीतिमा छन्। यसैबीच, राष्ट्रपति ट्रम्पले गत हप्ता युद्धविरामको अवधि बढाएका कारण हाललाई अमेरिकी बमबारी अभियान रोकिएको छ, जसलाई उनले युद्ध अन्त्यको दिशामा एउटा महत्वपूर्ण पाइलाका रूपमा व्याख्या गरेका छन्।
कूटनीतिक पहलकै क्रममा इरानी विदेशमन्त्री अब्बास अराग्चीले पाकिस्तान र ओमानको भ्रमणपछि रुस पुगेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब डेढ घण्टा लामो विशेष भेटवार्ता गरेका छन्। सेन्ट पिटर्सबर्गमा भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अराग्चीले इरान विश्वको महाशक्ति अमेरिकाको अगाडि नझुकेको र अमेरिकाले आफ्ना लक्ष्यहरू प्राप्त गर्न नसकेका कारण वार्ताको अनुरोध गरेको दाबी गरे।
