इरानले सात वर्षपछि साउदी अरबमा पुन: दूतावास खोल्ने
काठमाडौं । इरानले सात वर्षपछि साउदी अरबमा पुनः दूतावास खोल्ने भएको छ । चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौताअनुसार इरानले सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । पछिल्ला महिनामा दुई क्षेत्रीय शक्तिशाली राष्ट्रहरूले एकआपसको तनाव कम गर्दै आएका छन् । साउदीसँग कूटनीतिक दरार आएपछि इरानले सात वर्षअघि आफ्नो दूतावास बन्द गरेको थियो ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले मंगलबार तेहरानमा दूतावास खोल्ने, त्यसपछि जेद्दामा यसको वाणिज्य दूतावास र एकदिनपछि इस्लामिक सहयोग संगठनको प्रतिनिधि कार्यालय पुनःखोल्ने जानकारी दिए । दूतावास र वाणिज्य दूतावासले हज यात्राको सहजताका लागि काम थालिसकेको र अब दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थितिमा औपचारिकता दिइने बताइएको छ । (एजेन्सी)
