शोभा पाठकमाथि हातपात : महेश बस्नेतकी श्रीमती पक्राउ

काठमाडौं ।  काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसिरहेकी शोभा पाठकमाथि हातपात भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। कुटपिटबाट घाइते भएकी पाठकलाई उपचारका लागि तत्काल वीर अस्पताल लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पाठकमाथि हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ।

शोभा पाठकले लामो समयदेखि एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय उनले विवादका कारण राजीनामा दिएका गृहमन्त्री सुदन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने माग राख्दै माइतीघरमा धर्ना सुरु गरेकी थिइन्। सोही धर्नास्थलमा आज दुई समूहबीच भनाभन हुँदा झडपको स्थिति सिर्जना भएको हो।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। निषेधित क्षेत्र तोकिएको माइतीघर आसपासमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर