भारतका विदेश सचिव विक्रम मिस्री यसै साता नेपाल भ्रमणमा आउने
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री यसै साता नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि दक्षिणी छिमेकी भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । वरिष्ठ नेता शाह एक महिना अघि नेपालको प्रधानमन्त्री नियुक्त हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए ।
विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिनुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुङ्गो लगाउने बताइएको छ । नेपाल–भारत उच्चस्तरीय भ्रमणका विषयमा नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् ।
हालै मोरिससमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत छलफल भएको मन्त्री खनालले नेपाल फर्किएपछि बताएका थिए ।
