रोशी खोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध
काठमाडौं । रोशी खोलाले काभ्रे र सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानका डाइभर्सन बाढीले बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।
शनिबार दिउँसोदेखि पूर्ण रुपमा अवरुद्ध बनेको राजमार्गमा गाडी सञ्चालनमा ल्याउन अझै नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टका अनुसार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको छ। जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको हो।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारीसाधन प्रभावित भएका छन्। यात्रुहरू बीच बाटोमै रोकिन बाध्य भएका छन् भने अत्यावश्यक सेवासमेत प्रभावित बनेको छ।
