थापाथली सुकुम्बासी बस्ती खाली, मनहरामा झडप
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी छन् । तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन्। यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।
भक्तपुरको मनहरामा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप
यसैबीच भक्तपुरको मनहरामा सुकुम्बासी बस्ती खाली गराउने क्रममा शनिबार साँझ झडप भएको थियो । प्रहरीले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएर तीनवटा झुपडी भत्काइदिएका थिए। त्यसमध्ये एउटा झुपडीमा सामानधरि सारिएको थिएन। सामान सहितको घरमा डोजर चलेपछि स्थानीय आक्रोशित भएका थिए।
यसले बस्तीका बसोबासी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। केही सुकुम्बासी घाइते भएको र केहीलाई पक्राउ गरिएको स्थानीय बताउँछन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केही बेर ढुंगामुढा भएको बताएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काका अनुसार १२-१३ जना ढुंगामुढाले घाइते भएका छन्। घाइते हुनेमा एक जना डिएसपी पनि छन्। सबैको अवस्था सामान्य भएको उनले बताए।
