भक्तपुरको मनहरामा डोजर चल्दै, थापाथलीका सुकुमवासी खाली हुँदै

काठमाडौं ।  सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।

उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्तीको घर, टहरा हटाउँदै छ । पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर  भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।

यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र सुकुमबासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो ।

भक्तपुरको मनहरामा पनि चल्दै डोजर

मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको प्रहरी वृत्त, ठिमीका डीएसपी नवराज ढुंगानाले बताए ।

स्थानीय प्रशासनले शुक्रबार बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यहाँका बासिन्दाहरु शनिबार बिहानैदेखि आफ्ना सरसामान लिएर अर्को गन्तव्यतर्फ लागिरहेका छन् । त्यहाँ एक सयभन्दा बढी सुकुमबासीका घर टहरा छन् ।

यसैबीच थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि नै सार्वजनिक सूचना जारी गर्दै त्यहाँका घर–टहरा खालि गर्न भनेकोमा ७० प्रतिशत बासिन्दाले शुक्रबार साँझसम्म घर–टहरा खालि गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर