देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षार्षाको सम्भावना
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया: सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहने छ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
