सुधन गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त औपचारिक अनलाइनमाध्यममार्फत पठाइएको  बताए ।

निवेदनमा गृहमन्त्री गुरुङ पदमा बहाल रहँदा आफूविरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो ’स्वार्थको बाझिने’ विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहोदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताए । मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

जेनजी मुभमेन्टले मन्त्री गुरुङमाथि राजनीतिक आधारमा पनि  आरोप लगाएको छ । पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा जेनजी आन्दोलनलाई नै ‘हाइज्याक’ गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र व्यक्तिगत धन आर्जन तथा पद प्राप्तिका लागि बिचौलियाहरूसँग साँठगाँठ गरेको मुभमेन्टको दाबी छ। यस्तो कार्यले ७६ जना सहिदहरूको बलिदान र आन्दोलनकारीहरूको अपमान भएको निवेदनमा उल्लेख छ।

मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मुख्य चार बुँदे माग राखेको छ।

प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा केही बताएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर