इरानद्वारा होर्मुजमा भारतीय पानीजहाजमाथि गोली प्रहार
काठमाडौं । होर्मुज हुँदै कच्चा तेल र ग्यास लिएर भारततर्फ आउँदै गरेका दुईवटा भारतीय पानीजहाजमाथि इरानले शनिबार दिउँसो गोली चलाएको छ। न्यूज एजेन्सी पीटीआईका अनुसार, इरानको रिभोलुसनरी गार्ड (आइआरजी) ले भारततर्फ आउँदै गरेका १४ वटा पानीजहाजलाई होर्मुज पार गर्नबाट रोकेको छ।
फाइरिङपछि १३ वटा पानीजहाज फारसको खाडीका विभिन्न स्थानतर्फ फर्किएका छन्। एउटा जहाजमा गोली लागेको छ भने अर्को एउटा जहाज मात्र होर्मुज स्ट्रेट पार गर्न सफल भएको छ।
यस घटनापछि भारतको विदेश मन्त्रालयले भारतका लागि इरानी राजदूत डा. मोहम्मद फथअलीलाई बोलाएर कडा विरोध जनाएको छ। विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानले विगतमा पनि भारतीय जहाजहरूलाई सुरक्षित बाटो दिँदै आएको स्मरण गराएको छ र जहाजहरूको आवागमन चाँडै सुचारु गर्न आग्रह गरेको छ।
इरानले आजै होर्मुज बन्द गर्ने घोषणा गरेको थियो। अमेरिकाले युद्धविरामको उल्लङ्घन गरिरहेको आरोप लगाउँदै इरानले २४ घण्टाभित्रै आफ्नो निर्णय परिवर्तन गरेको हो।
अमेरिकी नाकाबन्दी अविवेकपूर्ण कदम : इरान
इरानी संसदका सभामुख मोहम्मद बकर गालिबाफले इरानी बन्दरगाहहरूमा अमेरिकाले गरेको नाकाबन्दीलाई गलत र अविवेकपूर्ण निर्णयको संज्ञा दिएका छन् । इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै गालिबाफले भने, ‘मैले पहिले नै स्पष्ट पारिसकेको छु कि यदि यो प्रतिबन्ध हटाइएन भने होर्मुज स्ट्रेटबाट हुने आवतजावतलाई निश्चित रूपमा सीमित गरिनेछ।’
आफ्नो भिडियो सन्देशमा उनले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी समेत गरे। गालिबाफका अनुसार, जब अमेरिकाले उक्त क्षेत्रबाट ‘माइन्स’ (विस्फोटक पदार्थ) हटाउने प्रयास गर्यो, इरानले त्यसको कडा प्रतिवाद गरेको थियो। ‘हामीले यसलाई युद्धविरामको उल्लंघन मान्यौं र स्पष्ट भन्यौं कि यदि यस्तो गरियो भने हामी आक्रमण गर्नेछौं,’ उनले चेतावनी दिँदै भने।
युद्ध सुरु भएदेखि नै मोहम्मद बकर गालिबाफ इरानको तर्फबाट एक प्रमुख र प्रभावशाली व्यक्तित्वका रूपमा अगाडि आएका हुन् । हालै मात्र इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा उनले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
