पालिकाको संख्यामा पुनर्विचारका लागि रायसुझाव माग
काठमाडौं । सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे राय तथा सुझाव मागेको छ । हाल कायम पालिकाको संख्यामा पुनर्विचार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
सुझाव दिन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गरेको छ । मन्त्रालयले सो कार्यमा सहजीकरण गर्न भन्दै त्यसको बोधार्थ जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई पनि दिएको छ ।
त्यसैगरी मन्त्रालयले स्थानीय तहको सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एकापसमा गाभिने र नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्थाबमोजिम सिमाना तथा संख्या हेरफेर गर्ने लागेको बताएको छ ।
मन्त्रालयका सहसचिव प्रकाश दाहालले भने, ‘१० वर्षसम्म महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको संख्यामा पुनरावलोकन भएको छैन । अब हुने स्थानीय तहको चुनावअघि यसमा पुनरावलोकन गर्नेगरी हामीले गृहकार्य गरिरहेका छौं । सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।’
