सल्यानमा जिप दुर्घटना, ४ जनाको मृत्यु, १४ घाइते

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

हिजो साँझ थाराबाट कालिमाटी–लक्ष्मीपुरतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट बाबियाचौर, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो । जिपमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका मध्ये अमर सिंह कँवर, डम्मर घर्ती, जनक थापा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुग सिंह पुन, कर्णबहादुर पुनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल सल्यान र मेहेलकुना अस्पताल, सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर