वार्ताका लागि ट्रम्प इस्लामावाद जाने सम्भावना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताका लागि आफू पाकिस्तानको राजधानी इस्लामावाद जान तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पाकिस्तानले शान्ति प्रक्रियामा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका हुन् ।
‘यदि पाकिस्तानमा इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ भने म इस्लामावाद जान सक्छु,’ ट्रम्पले भने । उनले पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको समेत तारिफ गरे । हाल पाकिस्तानी सेना प्रमुख असिम मुनीर शान्ति प्रयासका लागि तेहरानमा छन् ।
यसैक्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि खुलेर प्रशंसा गरे। मोदीलाई आफ्नो राम्रो मित्र भन्दै ट्रम्पले भने, ‘उहाँसँग मेरो धेरै राम्रो कुराकानी भयो, उहाँले उत्कृष्ट काम गरिरहनुभएको छ।’
यसअघि ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणा गरेका थिए । जुन शुक्रबार बिहानदेखि लागू भइसकेको छ। ट्रम्पले सशस्त्र समूह हिजबुल्लाहलाई यो युद्धविरामको पालना गर्न र शान्ति कायम राख्न आग्रह समेत गरेको बीबीसीले जनाएको छ ।
