मोटरसाइकल ठोक्किँदा एसईई दिएर फर्किएका तीन विद्यार्थीको मृत्यु
काठमाडौं । जलेश्वर-बर्दिबास सडकको बथनाहा गाउँमा दुई मोटरसाइकल ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ। ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू एसईई दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ।
प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनिपूर्ण रूपमा जलेर नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ। बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए।
सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। घटनामा तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
