रुपन्देहीमा लागूऔषध कारोबारीमाथि गोली प्रहार
काठमाडौं । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीको गोली चल्दा एक जना घाइते भएका छन् भने तीन जनालाई पक्राउ गरिएको छ । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादवको खुट्टामा गोली लागेको छ । उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनापछि मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न थालेका थिए । नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायरसहित गोली चलाएको हो ।घटनापछि विशाल यादवसहित भारत महाराजगञ्जका अरुण कुमार र विनय पाण्डेयलाई पक्राउ गरिएको छ । उनीहरू सवार मोटरसाइकल जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधमा फेनरागन, डाइजेपाम र ब्रुफिनका सयौं एम्पुल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैबीच, काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा पनि लागुऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
