चौंथो पटक ‘जिब्रो छेड्ने जात्रा’ धान्दै सुजन बाग श्रेष्ठ

भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने भएको छ ।

नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको र यस वर्ष पनि आफैँले जिब्रो छेडेर जात्रा मनाउने उहाँले बताउनुभयो ।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा तीन वर्र्षदेखि बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा यस वर्ष चौथोपटक जिब्रोे छेडाएर जात्रालाई निरन्तरता दिने हुनुभएको हो ।

जात्राका कर्मी नायोसमेत रहनुभएका कृष्णचन्द्र बाग श्रेष्ठले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताउनुभयो । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो ।

यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाउनुभएका उहाँले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताउनुभयो । सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दा अगाडि हजारौँले जयजयकार गरेको देख्दा आफूलाई कहिले जिब्रो छेडौजस्तो लाग्ने गरेको बताउँदै सुजनले पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमङ्गले दुखाइसमेत याद नभएको बताउनुभयो ।

पहिला जिब्रो छेड्ने मानिसको कमी हुने गरे पनि यस वर्ष भने चार जना युवाले जिब्रो छेड्न रहर गरेको बताउँदै उहाँले आफूले सक्ने भएसम्म जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने बताउनुभयो । सुजनले भन्नुभयो, “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेर यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्नेछु ।”

बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।”

जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा रहेको उहाँ बताउनहुन्छ ।

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०९ वर्ष जिब्रो छेड्को रेकर्ड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर