बालेनलाई पूरा कार्यकालका लागि कांग्रेसको शुभकामना

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले दल भिन्न रहे पनि देश एउटै भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा दलीय आधारमा सम्बोधनका क्रममा उनले भने, “विभिन्न आस्था र विचार बोेकेका एकै ठाउँमा, एउटै नौकामा छौँ ।” उनले अगाडि भने, “डुबे सबै डुब्छौँ, उठे सबै र सँगै उठ्छौँ ।”

००७ सालको क्रान्तिदेखि पछिल्लो ‘जेनजी’ विद्रोहसम्मका सहिदप्रति सम्मान गर्न उनले आग्रह गरे । “२०४६ सालको जनआन्दोलन, १० वर्ष लामो सशस्त्र विद्रोह, ०६२-०६३ को जनआन्दोलन, मधेस आन्दोलन, थरूहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र आन्दोलन, त्यसक्रममा भएका कैयौँ सहादतलाई आज एकमुष्ट स्मरण गरौँ,” उनले भने । नागरिकमा नयाँ आशा र विश्वास जगाउन सक्नुपर्नेमा उनले जोड दिए ।

आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिए । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् । म सोध्दिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ ? बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहुन्छु । तपाईंलाई देशका लागि राम्र गर्न हाम्रो प्रष्ट साथ रहनेछ ।’

उनले अगाडि भने, ‘तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर