विद्यार्थी संगठन खारेज गर्नु लोकतन्त्रविपरीत

काठमाडौं ।  बालेन सरकारले विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोध गर्दै १४ विद्यार्थी संगठनले त्यसलाई लोकतन्त्रको मूल्य-मान्यताविपरीत रहेको बताएका छन्। मंगलबार कांग्रेस, एमालेलगायत १४ दलसम्बद्ध विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेर विद्यार्थी संगठन खारेज गर्नु भनेको विचारमाथिको बन्देज रहेको बताएका हुन्।

विद्यार्थी संगठन खारेज गर्दा युवा पुस्ताको राजनीतिक समाजीकरण प्रक्रियामा अवरोध सिर्जना हुनेसमेत उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘विचारका आधारमा संगठनमा आबद्ध हुन पाउने अधिकार नेपालको संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार हो। कसैको पनि विचारमाथि बन्देज लगाउने कार्य लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुनुका साथै अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूसँग समेत असंगत हुन्छ। यस्तो प्रयासले युवा पुस्ताको स्वाभाविक राजनीतिक समाजीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने खतरा रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६० दिनभित्र दलीय विद्यार्थी संगठन खारेज गर्ने र ९० दिनभित्र विद्यार्थी काउन्सिल गठन गर्ने निर्णय गरेको थियो। त्यसको अहिले विद्यार्थी नेताहरूले विरोध गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर