शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अगाडि बढ्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित आफ्नै सरकारी कार्यालयमा मङ्गलवार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक भेट गरी उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताए ।
आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरूको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए ।
बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएका थिए । धनघढी–दीपायल द्रुतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताए ।
