अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि सुचारु
काठमाडौं । गत शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आइतबार बिहानदेखि सुचारु गरिएको हो। शुक्रबार साँझ परेको वर्षाका कारण रोसी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको डाइभर्सन सडक बगाएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको थियो।
बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानैदेखि अस्थायी डाइभर्सन निर्माण गरी नेपालथोकदेखि चौकीडाँडासम्म फसेका सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध रहेको राजमार्ग आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको हो।
प्रहरीले मौसमको प्रतिकूलतालाई ध्यानमा राखी सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बाढीले बगाएको डाइभर्सन पुनर्निर्माण गरेपछि आइतबार बिहानदेखि नियमित रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो। उहाँका अनुसार शनिबार साँझसम्म डाइभर्सन निर्माण गरी फसेका सवारी साधन निकालिएको र आइतबार बिहानदेखि अन्य सवारी साधन सञ्चालनमा आएका छन्।
शुक्रबारको बाढीले चौकीडाँडा, कटुञ्जे घुमाउने, चारसयबेशी, गिम्दी, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी र पिप्ले–सुख्खापहिरो क्षेत्रमा गरी करिब पाँच किलोमिटर डाइभर्सन सडक वासआउट भएको थियो। ती स्थानमा पुनः डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। गत वर्ष असोज दोस्रो साताको बाढीका कारण एक नम्बर पुलदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडकमा क्षति पुगेको थियो। काभ्रेपलाञ्चोकतर्फ २५ किलोमिटर सडक प्रभावित भएको थियो।
हाल उक्त राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ। डालाबेशीदेखि चारसयबेशीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–कमलजीत–एवान जेभीसँग एक अर्ब २२ करोड रुपियाँ र चारसयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडकका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपियाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ।
त्यस्तै, डालाबेशीदेखि सुख्खापहिरोसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माणका लागि उमा–भण्डारी–अमरज्योति जेभीसँग ६८ करोड ५८ लाख रुपियाँमा सम्झौता भई काम सुरु भएको छ। पिप्ले (सुख्खापहिरो) देखि डालाबेशीसम्मको करिब ३.२२ किलोमिटर सडक पुनर्निर्माणको काम जाइकाले गर्ने भए पनि सो खण्डमा काम अझै सुरु भएको छैन। हाल पुनर्निर्माण भइरहेका तीन खण्डमा करिब २६ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन भक्तपुरले जनाएको छ। आगामी वर्षायाममा खोलाको साविक बहावबाटै सवारी सञ्चालन हुने गरी काम अगाडि बढाइएको कार्यालयले जनाएको छ।
