एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
प्रहरी वृत्त सातदोबाटोमा २०८२ फागुन ५ गते उक्त मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा फरार रहेका मल्ललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला मुगु सोरु गाउँपालिका–१०, धैनकोट स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको छ। उक्त घटनासँग सम्बन्धित पीडित केही दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बस्दै आएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
