ओलीको स्वास्थ्य परीक्षण, आइतबार अदालतमा उपस्थित गराइने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गरिने भएको छ । आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्ने तयारी प्रहरीको छ । यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिने छ ।

कानुनी प्रावधानअनुसार प्रहरीले ओली र लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ । तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्नेछ ।

पक्राउ परेका ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईँले अध्यक्ष ओलीको अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए । उनका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थाको जाँच गरिरहेको छ । शनिबार बिहान सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई पक्राउ गरी प्रहरीले प्रहरी परिसर भद्रकाली पुर्‍याएको थियो । त्यहाँ केही समय राखेर उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

नयाँ सरकार बनेलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखकलाई पक्राउ गरिएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर