महेश बस्नेत आन्दोलित, गृहमन्त्री र प्रहरीलाई दोष

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओली प्रकाउ परेसँगै  प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेले प्रदर्शन गर्ने एमाले सचिव महेश बस्नेतले बताएका छन् ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि शुरू हुने प्रदर्शनमा सहभागी बनौं । कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ,’ सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले लेखका छन् ।

‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ,’ बस्नेतले लेखका छन् ।

 ‘बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ’, बस्नेतले लेखका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।’

बस्नेतले प्रहरीलाई लक्षित गरेर लेखेका छन्,‘सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।’

यसैबीच नेकपा एमालेले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ। एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर