इरान, इजरायल र अमेरिका युद्ध हवाईबाट स्थलतर्फ लम्किँदै
काठमाडौं । अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गरे इरानले भीषण प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानको एक सैन्य सुत्रका अनुसार, सम्भावित स्थलगत आक्रमणको खबरपछि देशमा लड्ने जोश र उत्साह निकै बढेको छ । हालसम्म करिब १० लाख लडाकुहरू तयार पारिएको दाबी गरिएको छ ।
यसमा ठूलो संख्यामा युवाहरू समावेश छन्, जो आफैँ अघि सरेर सेनामा भर्ना हुन माग गरिरहेका छन् । यी लडाकुहरू विशेष गरी बासिज फोर्स, इरानी रिभोलुसनरी गार्ड, र नियमित सेनामार्फत संगठित भइरहेका छन् ।
यसैगरी इरानले यदि अमेरिकाले होर्मुज जलमार्ग खुला गर्नका लागि कुनै पनि खतरनाक वा ‘आत्मघाती’ रणनीति अपनाएमा त्यसको सामना गर्न इरान तयार रहेको भनेको छ । उनीहरू जुनसुकै परिस्थितिमा पनि यो जलमार्ग बन्द राख्न सक्षम रहेको इरानको दाबी छ । होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुन्छ ।
यो तनावको मुख्य सुरुआत अमेरिका र इजरायलले मिलेर २८ फेब्रुअरी २०२६ मा इरानमाथि ठूलो हवाई आक्रमण गरेपछि भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी र धेरै उच्च सैन्य कमान्डरहरूको मृत्यु भएको थियो । त्यसयता दुवै पक्षबीच लगातार मिसाइल र ड्रोनमार्फत जवाफी हमलाहरू भइरहेका छन् । इरानले आफ्नो नेतृत्वको मृत्युको बदला लिन ‘प्रतिशोधात्मक’ रणनीति अपनाइरहेको छ ।
