रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेतामा बालेन्द्र शाहलाई सर्वसम्मत चयन गरेको छ । संसदीय दलको नेता चयन भएसँगै शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
भोलि शुक्रबार १२ बजेर ३४ मिनेटमा शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ। यसअघि कुनै एक दलको बहुमत नआएको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने अवस्था यस पटक भने छैन । सदनमा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमतको नजिक छ । सरकार गठनका लागि सदनको बहुमत अर्थात् १३८ मात्र नै पर्याप्त हुन्छ।
यस्तो अवस्थामा संविधानतः राष्ट्रपतिले अब सरकार गठनका लागि कुनै आह्वा नगरी प्रतिनिधिसभामा बुहमत प्राप्त दल रास्वपाको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरिने व्यवस्था छ।
सोहीअनुसार अब रास्वपाले बालेन्द्र शाह आफ्नो संसदीय दलको नेता चयन भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा गराएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दलको नेता शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि नै चैत्र १३ गते शुक्रबार दिउँसो १२ः३४ मा हुने नवनियुक्त प्रधानमन्त्रीको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी सुरु गरिएको छ ।
प्रधानमन्त्रीको शपथलगत्तै शाह भोलि शुक्रबार दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रमसमेत सार्वजनिक भइुसकेको छ । यसैबीच, मन्त्रिपरिषदमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन रास्वपाका शीर्ष नेताहरु यतिखेर छलफलमा छन् ।
