अमेरिकाले अब इरानमाथि आक्रमणको गति कम गर्ने
काठमाडौं । इरानमाथि जारी संयुक्त सैन्य आक्रमणले विश्वव्यापी ढुवानी र तेल बजारमा हलचल पैदा गरिरहेका बेला वासिङ्टनले आफ्नो आक्रमणको गतिलाई सुस्त बनाउने सङ्केत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु महत्त्वाकाङ्क्षा र मिसाइल क्षमतामा अपूरणीय क्षति पुर्याएको दाबी गर्दै अब अमेरिका सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताए।
ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौं र मध्यपूर्वमा जारी हाम्रो महान् सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौं।”
ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ।
तर ट्रम्पले शान्ति सम्झौता चाहँदैनन् भने पनि संवादको विकल्प खुला राखेको बताए। उनले पत्रकारहरूसँग भने, “तपाईं शान्ति सम्झौतामा जान सक्नुहुन्छ, तर म शान्ति सम्झौता गर्न चाहन्न। जब तपाईं अर्को पक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब यो सम्भव हुँदैन।”
ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको र उनका नेता सबै स्तरमा मारिएका बताए। हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए, र अमेरिका आवश्यक परे सहयोग गर्नेछ।
