भीमफेदीमा पहिरो, बाटो अवरुद्ध
काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने महत्वपूर्ण सडक कान्ति लोकपथमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे क्षेत्रमा शुक्रबार परेको वर्षासँगै पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोका कारण सवारी साधन आवतजावत रोकिएको छ। अहिले स्थानीय तह र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनु भयो।
हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।प्रहरीले पहिरो हटाउने काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालनमा आउने जनाएको छ। साथै, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया
